
नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिसमा आनाकानी गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सिफारिस गरेका नामलाई तत्काल मन्त्रीमा नियुक्त गर्नुपर्ने नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।
यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।
समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, मेटमणी चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरमा सहमति जनाएका छैनन् । उनले अहिले बजेट सेसन चलिरहेकोले मन्त्रीहरु हेरफेर गर्दा नराम्रो सन्देश जाने भन्दै माधव नेपालले सिफारिश गरेको नामबारे निर्णय गरिसकेका छैनन् ।
मन्त्रीहरु हेरफेर गर्ने निर्णयले अहिले माधव नेपाल समस्यामा परेको पनि चर्चा चल्न थालेको छ । माधव नेपालले पार्टीले सुरुमा अहिलेका मन्त्रीहरुलाई सरकारमा पठाउँदा नै ६ महिनाको लागि पठाएको र त्यसपछि नयाँ मन्त्रीहरु पठाउने समझदारी भएअनुसार नै यस्तो निर्णय गरेको बताएका छन् ।
तर, सार्वजनिक रुपमा भने यसरी ६ महिना पुग्ने बित्तिकै मन्त्रीहरु फेर्दा अस्थिरता सिर्जना हुने र अहिले सुरु गरिएका कामहरु अधुरो हुने भन्दै आलोचना भैरहेको छ ।