चर्को महंगीको मारमा थिचिँदै सर्वसाधारण, सरकार बेखबर!

नेपाल अल न्युज
  • ख-
  • ख+

काठमाण्डौँको पुतलीसडकमा बस्ने नवलपरासीकी ३६ बर्षीया सिर्जना सुवेदी अहिले निकै चिन्तित छिन्। एउटा सानो कोठा डेरामा लिएकी उनीसंग ३ जना बालबालिका खाँदिएर बसेका छन्। उनको जागिर भनेको अरुको घरमा झाडुपोछा गर्ने हो। घरको आर्थिक अवस्था निकै कमजोर छ। श्रीमान् विदेश जाँदा लागेको ॠण तिर्न नसकेर दिनहुँ साहुले कान खान्छ। आफूले मजदुरी गरी जुटाएको पैसाले बिहानसाँझको जोहो गर्नमा ठिक्क छ। यस्तो अवस्थाकी उनी अहिले भने निकै चिन्तामा छिन्। उनको चिन्ताको पारो बढ्नुको प्रमुख कारण अचाक्लिएको महंगी हो।

मजदुरी गरेर कमाएको १२। १५ हजारले नुन तेल पनि नपुग्ने उनी बताउँछिन्। ‘हिजोको दिनमा अलिकति सजिलै थियो तर आज भोलिको जिन्दगी निकै सकसपूर्ण छ। राम्रो लत्ता-कपडा लगाउने त कुरै छोड्नुस् केटाकेटीले मिठो मसिनो खाऊँ भन्दा पनि खुवाउन सकिने स्थिति छैन। अब भान्छामा खानेतेल नै बन्द गर्नु पर्ने स्थिति आयो’ उनी सुनाउँछिन्।

सिर्जना मात्रै होइन अहिले काठमाण्डौँमा भाडामा बस्नेहरु सबैको दैनिकी कष्टकर बन्दै गएको छ। बजारमा उपभोग्य वस्तुको मुल्य बढेको बढ्यै छ। अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मुल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो। चालु आर्थिक बर्षमा मुल्यवृद्धि साढे ६ प्रतिशतको सीमामा राखिने भनिए पनि बढी दबाब पर्न जाँदा करिब ८ प्रतिशतले मुल्य वृद्धि भएको छ। विशेष गरेर घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सर्तीजन्य वस्तुको मुल्य अत्याधिक बढेको छ।

महंगी उस्तै बढेको छ भने घरधनीले भाडा पनि बढाउन थालेका छन्। कपिलवस्तुबाट जापानी भाषा कक्षा पढ्न काठमाण्डौँ आएकी लक्ष्मी थारु कोठा भाडा महंगो भएपछि होस्टल वस्न बाध्य भएकी छन्। एउटै सानो कोठालाई पनि ७। ८ हजार भनेपछि अहिले होस्टल बस्न थालेको उनी बताउँछिन्। लक्ष्मीजस्तै अरु विद्यार्थीको हालत पनि उस्तै छ।

काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ। धादिङबाट काठमाण्डौँ आई एक कम्पनीमा काम गर्ने नुवाकोटका महेश पुडासैनी अब मोटरसाइकल पनि चढ्न नसक्ने अवस्थामा छन्। उनी भन्छन् ‘मोटरसाइकल चढौँ, २ सय रुपैयाँ लिटर तेल, माइक्रो चढौँ सामान्य पनि २५ रुपैयाँ भाडा, हिँडौँ अफिस टाढा छ। अब साइकल चढ्ने सोँचमा छु। साइकलको रेट बुझ्न जाँदा पनि राम्रो साइकल उस्तै महंगो, कसरी जागिर बचाउने’?

नेपाल आयल निगमले पेट्रालियम पदार्थमा बढाएको भाउ अनुसार पेट्रोल १ सय ९९ र डिजल र मट्टीतेलको १ सय ९२ रुपैयाँ पुगेको छ। इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढेको हो भने खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री समेत महँगो भएको व्यापारीको भनाइ छ। उपभोक्ता पनि यही महँगीको मारले थिचिएका छन् ।

खाने तेलको मुल्य लिटरमा ४ सय रुपैयाँ पुगेको छ। यसको साथमा दाल, चिनी, सागसब्जी, चामल, साबुन, सरफको पनि भाउ आकासिएको छ। चर्को मुल्य वृद्धिले उपभोक्ताको ढाड सेकिँदा सरकार भने बेखबर छ। बाहिरबाट र संसदमासमेत मुल्यवृद्धिबारे चर्को स्वर उठे पनि यसलाई कम गर्ने बारे केही ठोस योजना सरकारले सार्वजनिक गर्न सकेको छैन। निम्न आए भएका सर्वसाधारणलाई बाँच्न नै कठिन भएपछि सरकारले राहत कार्यक्रम घोषणा गर्न पनि बाहिरी दबाब छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalallnews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी