
नेपालमा कृषि उत्पादन किन बढेन, खेतबारी किन बाँझो हुन थाले, उत्पादक जनशक्ति खेती गर्न छाडेर किन विदेश हान्निए अथवा शहर पसे ? यस्ता विषयमा खूबै चर्चा गरिन्छ । तर, यसका भित्री कारण खोजेर तिनको समाधान पहिल्याउनेतर्फ खासै काम भएको पाइँदैन । यसको मुख्य कारण जसले नीति बनाउँछन् तिनले यो समस्या बुझेकै छैनन् अनि जसले समस्या भोगिरहेका छन् तिनीहरूको नीति बनाउने ठाउँसम्म पहुँच नै छैन ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा कृषि उत्पादन बढाउने, कृषिको आयातलाई ३० प्रतिशत घटाउने भनेर लेखियो, भनियो । यो लेख्नुपर्नाको कारण देशमा कृषि उपजको अभाव भएर होइन, कृषि उपज समेत आयात गर्ने विदेशी मुद्राको सञ्चितिमा आएको गिरावटले हो । विदेशी मुद्राको सञ्चिति यही गतिमा घट्ने हो भने हामीसँग करिब दुई वर्षपछि कुनै पनि वस्तु तथा सेवा आयात गर्ने विदेशी मुद्रा हुने छैन र हाम्रो देशले पनि श्रीलंकाले अहिले भोगेको जस्तै समस्या भोग्नुपर्नेछ ।
देशलाई चाहिने खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलहन, माछा-मासु, दूध आदि देशमै उत्पादन हुनसके र विदेशी मुद्रा खर्चेर आयात गर्नु नपरे मात्रै पनि वर्षको तीन खर्ब जतिको आयात कम गर्न सकिन्छ । यसले विदेशी मुद्राको सञ्चितिमा परेका दबाव कम हुन्छ, व्यापार घाटा कम हुन्छ, देशमा रोजगारी सिर्जना हुन्छ ।
त्यति मात्रै होइन यसबाट कृषि उत्पादनको सीप र ज्ञान बढ्छ, प्रतिस्पर्धी क्षमताको विकास हुन्छ, तुलनात्मक रूपमा विषादी कम भएको वस्तु उपभोक्ताले सेवन गर्न पाउँछन् । यति त सबैजसोले बुझेका छन् तर यति राम्रो काम किन गर्न सकिंदैन भन्ने चाहिं धेरैले पत्तो पाउन सकेका छैनन् ।